ज्योति लाइफको आइपीओ शुक्रबारदेखि खुला : लगानी गर्नुअघि हेरौं कस्तो छ कम्पनी….

ज्योति लाइफ इन्सुरेन्सले शुक्रबार (फागुन २१ गते) बाट आइपीओ खुला गर्दैछ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ ।

ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । हाल यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८१ पैसा छ ।

क्रेडिट रेटिङ

ज्योतिको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ । यो रेटिङ २०७७ असार २५ गतेदेखि १ वर्षसम्मका लागि बाहल रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ?

नेपालमा हाल आइपीओमा लगानीकर्ताको अधिक आकर्षण रहेको छ । पछिल्ला आइपीओहरुमा लगातार जसो झण्डै १५ लाख लगानीकर्ताले आवेदन दिएका छन् । यस्तै, नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्यामा पनि दिनदिनै वृद्धि हुँदै गएको छ । पछिल्लो समय खुलेको महिला लघुवित्तको ३ लाख ७५ हजार कित्ता आइपीओका लागि पनि झण्डै १५ लाख सर्वसाधारणले आवेदन दिएका थिए ।

यस आधारमा, ज्योति लाइफको आइपीओ पाउन पनि भाग्यमा भर पर्नुपर्ने देखिन्छ । किनभने, ज्योतिको ५९ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिनसक्नेछ । उक्त सेयर १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ५ लाख ९४ हजार जना लगानीकर्तालाई मात्र दिन पुग्छ ।

तसर्थ, ज्योतिले खुला गर्न लागेको सेयर र पछिल्लो समय आइपीओमा परेको आवेदनका आधारमा यस कम्पनीको १० कित्ता सेयर पाउन पनि भाग्यमानी हुनुपर्छ भन्न सकिन्छ । तथापि, यसमा कति आवेदन पर्छ ? अनि आवेदक संख्या कति हुन्छ भनेर अहिल्यै अनुमान गरिहाल्नु भने त्यति उचित हुँदैन ।

कम्पनी सम्बन्धी विवरण

ज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित भई बिमा ऐन, २०४९ र बिमा नियमावली २०४९ बमोजिम जीवन बिमा व्यवसायको कारोबार गर्न इजाजत प्राप्त संस्था हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय पोखरा महानगरपालिका वडा न. ९, कास्की जिल्लामा रहेको छ ।

ज्योतिको कारोबार गर्ने मुख्य स्थान काठमाडौंको ज्ञानेश्वरमा रहेको छ । यसले आवश्यकता अनुसार बिमा समितिको स्वीकृति लिएर नेपालभर तथा विदेशमा पनि आफ्नो शाखा, उपशाखा तथा सम्पर्क कार्यालयमार्फत कारोबार गर्न सक्नेछ । हालले नेपालभर ११८ वटा शाका कार्यालयमाफर्त बिमा कारोबार गरिरहेको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.