सेयर बजारमा नयाँ रेकर्डहरु बन्दै, नेप्से दोहोरो अंकले बढ्दा ४ अर्ब ८२ करोड कारोबार….

काठमाडौं :नेप्से सूचक तथा अन्य उपसूचकहरुले पनि धमाधम नयाँ उचाईहरु बनाइरहेका छन् । जीवन बिमा उप समूहको सूचक १० हजार विन्दुमाथि पुगिसकेको छ । अन्य कतिपय समूह र कम्पनीहरुको भाउमा पनि नयाँ रेकर्डहरु बन्न थालेका छन् । समग्र पुँजी बजारमा उत्साह बढ्दै जाँदा समूहगत र कम्पनीगत आधारमा नयाँ कीर्तिमानहरु बन्न थालेका हुन् ।

खरिदबिक्री रकममा थप तेजी देखिएको छ । बिहीबार अघिल्लो दिनको भन्दा अझै बढी रकमको सेयर कारोबार भएको छ । खरिदबिक्री रकम ४ अर्ब ८२ करोड भन्दा बढी पुगेको छ । नेप्से सूचक बुधबार सजिलै १७ सय अंकमाथि उक्लिएपछि बजारमा थप नयाँ रौनकता छाएको हो । बिहीबार पनि सूचक दोहोरो अंकले वृद्धि भएर १७ सय विन्दुभन्दा माथि नै अडिएको छ ।

बीचमा विस्तारै केही करेक्सन भए पनि बजारले अब सजिलै पुरानो उच्चतम रेकर्ड १८८१ लाई क्रस गर्ने लगानीकर्ताहरुले विश्वास गरिरहेका छन् । किन भने यतिबेला सेयर बजारका लागि हरेक हिसाबले उपयुक्त समय देखिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता छ । ब्याजदर घटेको छ । बैंकहरुले बोलाइबोलाई सेयर कर्जा दिइरहेका छन् । सेयर धितो राखेर ७०% सम्म कर्जा पाइन्छ । सर्वसाधारण लगानीकर्ता पनि निकै उत्साहित भइरहेका छन् ।

सरकार तथा नियामकले पनि सुधारका लागि कामहरु गरिरहेका छन् । यी सबै परिदृश्यहरुले सेयर बजारको आगामी गति सकारात्मक हुने देखिएको हो । तथापि, बजारले विश्राम लिंदै आफ्नो गति तय गर्नेछ । सधैं एकोहोरो बढिरहन्छ भन्ने हुँदैन । तलमाथि गर्दै अघि बढ्ने यसको विशेषता रहेको हुन्छ । लगानीकर्ताले सबल अवस्था भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरुमा लगानी गर्नुपर्छ । सकेसम्म लामो समय होल्ड गर्ने हिसाबले सेयर खरिद गरेमा दैनिक हुने उतारचढावबाट खासै चिन्ता लिनु नपर्ने हुन्छ ।

You might also like

Leave A Reply

Your email address will not be published.