ईश्वर भ्रम र यथार्थ

🖎श्रीराम पोख्रेल।

सृष्टी चक्रको यस कलियुग सम्म आइपुग्दा ईश्वरको बारेमा विभिन्न धारणाहरु उठ्ने गरेको पाइन्छ। कतिपयले ईश्वर भएको र यो सृष्टी सञ्चालनको क्रममा (दिन-रात, सूर्य-चन्द्र, हावा-पानी आदिले ठीक- ठीक समयमा कार्य-सम्पादन गर्नुमा) ईश्वरकै हात रहेको भनि विश्वास गरेको पाउँछौं भने कतिपयले ईश्वर छैनन्, भएता देखिनु पर्ने, कसले पो देखेको छ र? देखेकै भए प्रमाण पेश गर भनी आफू नास्तिक आस्थामा रही ईश्वर देखाउन जिद्दी गरेको पनि पाइन्छ।

चित्त बुझ्दो उत्तर नपाउँदा सम्म जिज्ञासा उठ्नु स्वभाविक पनि हो। यो गम्भीर तथा महत्वपूर्ण विषयमा म जस्तो सामान्य व्यक्तिको बुझाइ अपर्याप्त हुने भए तापनि आफूले आज सम्म जाने-बुझेको, पढे- अनुभव गरेको आधारमा ईश्वरलाई महसुस गर्ने मार्गबारे केही विचार व्यक्त गर्ने जमर्को गरेको छु

हरेक फरक महत्वपूर्ण कुरो एउटै नजरले हेर्दा त्यसमा निहित गुढ रहस्य नदेख्न पनि सकिन्छ। जस्तै सामान्य आँखाले हेर्दा दूध देखिन्छ तर घ्यू देखिँदैन, उखु देखिन्छ चिनी देखिँदैन र पनि त्यसैमा हुन्छ। कसैलाई विचार हुन्छ कि हुँदैन भनेर सोध्यो भने सजिलै संग हुन्छ भनेर उत्तर दिन्छ। तर कहाँ हुन्छ भनेर सोध्यो भने टाउकोमा पनि भनि हाल्छ, तर टाउको फोरेर हेर्यो भने त रगत मासु,हाड र गिदी मात्र फेला पर्छ।

यस्तो परिस्थितिमा विचार छ भन्नु कि छैन भन्नु? टाउको फुटाएर विचार खोज्दा त भेटिँदैन। त्यस्तै कसैलाई मायाँ हुन्छ-हुँदैन भनेर सोध्यो भने पनि हुन्छ भन्छ। तर कहाँ हुन्छ भन्दा मुटुमा भनेर छातितर्फ इङ्गित पनि गर्छ। तर मुटुलाई चिरेर माया खोज्यो भने त्यसको पनि हालत उस्तै, उहि रगत र मासु मात्र फेला पर्छ। अव माया छ भनौँ कि छैन भनौँ। छैन भनौँ त यो दुनिया यहि मायाको वसमा परेर अडिएको छ। माया छ, हुन्छ भनौ भने वस्तुगत रुपमा देखाउन सकिंदैन। ईश्वर छन् छैनन् भन्ने जिज्ञासाको उत्तरमा पनि यही सिद्धान्त लागू हुन आउँछ।

ईश्वरको विषयमा कुरो उठ्दा आफ्नै जीवनमा घटेको करीव ३१ वर्ष पुरानो एउटा रोचक घटनाक्रमको याद आयो। एकजना आफूलाई घुमन्ते भनेर वताउने साथिले ईश्वर छन् भने देखाउन सक्नु पर्यो भनेर जिद्दी नै गरेपछि बाध्यताले सानो प्रयोग बिधि अपनाउनु परेको प्रसङ्ग यहाँ समावेश गर्न सान्दर्भिक ठान्दछु।

ती घुमन्ते साथीले तत्काल ईश्वर देख्न माग गरेपछि मैले पनि हामी दुवैका सामुन्ने रहेको धाराबाट ५ मुठी पानी लिएर आउन अनुरोध गरें। ती घुमन्ते साथीले होटलबाट गिलास मागेर करीब त्यति नै पानी लिएर आउनु भयो। मैले भने तपाईं लाई त पानी मात्र पो ल्याउन अनुरोध गरेको हुँ। यो गिलासमा किन ल्याउनु भयो, भनेर त्यो पानी भूइँमा फ्याँकिदिएर फेरी पनि पानीमात्र ल्याउन अनुरोध गरेँ।

ती घुमन्ते साथी रिसाउँदै त्यहि होटलबाट लोटा मागी फेरी त्यति नै पानी लिएर यी लिनुस् भनेर झोक्किँदै दिनु भयो। अनि मैले भने तपाईलाई पानी मात्र पो ल्याउन अनुरोध गरेको, लोटामा किन ल्याउनु भयो? यतिमात्र के बोलेको थिएँ साथिको रिसले सिमा नाघी हाल्यो। भाँडो विना पानी मात्र कसरी ल्याउन सकिन्छ? कस्तो मुर्ख मान्छे हो? भन्दै केही बेरसम्म गाली गरी रहनु भयो। मैले सुनिमात्र रहेँ।

जसै ती साथीको केहि समयमा रिस मथ्थर हुँदै आयो अनि मैले भने हामी दुबैले देखिने गरि बगी रहेको धाराको पानी ल्याउन त तपाइलाई भाँडो चाहियो, केही आधार चाहियो भने ईश्वर जस्तो महत्वपूर्ण कुरो देख्न पनि त केहि आधार त चाहिएला नि! त्यहाँको पानी यहाँ ल्याउन आधार चाहिए जस्तै ईश्वर देख्न पनि विशेष आधारको आवश्यकता पर्दछ।

जुन आधार धर्म, योग, ध्यान, साधना, त्याग, तपश्या भक्तिभाव हुन्। यसका लागि रिसमाथि विजय प्राप्त गर्नुको साथ-साथै आहार-विहार देखि लिएर विचार व्यवहार समेत सात्विक हुनु पर्ने हुन्छ। तव मात्र सम्भव छ। हाम्रा यिनै आँखाले बारम्बार देखिरहेको पानी त बिना आधार यहाँ ल्याउन सकिएन भने तपाईं-हाम्रो यो तहको व्यवहारले परमात्माको दर्शन मिल्ला त? हामीले जस्तो चिजको अपेक्षा राख्छौँ बिधि पनि त्यस्तै अपनाउन सक्यौँ भनेमात्र हाम्रा उद्देश्यहरु पुरा हुन सक्ने हुन् भने पछि अन्तत: ती घुमन्ते साथीले चित्त बुझाइ धन्यवाद भन्दै हात मिलाएर बाटो लागेका थिए।

हामीलाई फरक कुरो हेर्न फरक औजार आवश्यक परे जस्तै ईश्वर देख्न पनि दिव्यदृष्टि आवश्यक पर्छ। यी चर्मचक्षुले(भौतिक आँखाले) सामान्य भौतिक पदार्थ जस्तो साजिलै ईश्वर देख्न सकिंदैन। तर व्यक्तिले आफूलाई जुन तहमा पुर्याएको हुन्छ उसले ईश्वरको बारेमा पनि त्यही तहको सुन्दर अनुभव गरेको हुन्छ।

यदि ईश्वरै नहुँदा हुन् त उनको नामै उठ्ने थिएन। माथि उल्लेख भए अनुसारका आधारहरु निर्माण गरी आफूलाई सर्व साधारण भन्दा फरक व्यबहारमा प्रस्तुत गर्न सक्ने महावलशाली हनुमान, भक्तवत्सल प्रह्लाद, हाम्रा पूर्वज ऋषि-मुनि जस्ता व्यक्तिहरुको कुरो त पौराणिकै भयो भन्ने लाग्न सक्छ तर चैतन्य महाप्रभु, स्वामी विवेकानन्द, सत्य साई, अझ भनौं हाम्रै मातृभूमि नेपालको माटोमै अनेकौं असाधारण व्यबहार प्रदर्शन गर्नुभएका स्वर्गद्वारी महाप्रभु, महागुरु फाल्गुनन्द, गुरु गोरखनाथ, बालागुरु षडानन्दलाई बुझ्न धेरै टाढा गइरहनु नपर्ला।

बालागुरुषडानन्दले रुमाल विछ्याइ त्यसैमाथी बसेर सहजै अरुण नदी तर्ने गरेको लोक प्रसिद्दि सवैका सामु ताजै छ। त्यसैगरी उच्चतम् वैज्ञानिक उपलब्धी हासिल गरिसकेका संसारकै सु-प्रसिद्ध देशका हस्पिटलहरुमा अन्तरार्ष्ट्रिय रुपमै नाम चलेका अप्रेसन गर्ने डक्टरहरुले समेत ठूला-ठूला अप्रेसन गर्नु पूर्व आफूले गर्न लागेको अप्रेसन सफल रहोस भनि सर्व प्रथम ईश्वरको प्रार्थना गरेपछि मात्र अप्रेसनका औजारहरु प्रयोग गरिनुले डक्टरका मनमा पनि आफू निमित्त मात्र भएको र आफ्नो कर्मलाई सार्थक पार्न ईश्वरकै हात रहन्छ भनि समर्पण भाव प्रकट गरेको भन्ने बुझाउँछ।

त्यसैगरी आज भन्दा झन्डै ७४ वर्ष पहिले नै भारतको कलकत्ताबाट MBBS र वेलायतबाट चिकित्सा विज्ञान पढेका डक्टर खप्तड बाबाले त झन त्यो वेलाको दुर्लभ शिक्षा(डाक्टरी विद्या) हासिल गरेका भए तापनि आफ्नो बाटो नै बदलेर सन्यास ग्रहणगरी आध्यत्मिक मार्ग हुँदै ईश्वर तपश्याको लागि नेपालको पश्चिमी भाग खप्तडमा आइ ५० वर्ष लामो समय सम्म तपश्यारत जीवन विताएको गर्विलो तत्थ्य सवैका सामु छर्लङ्गै छ। बाबाले तपश्या गरेको त्यो ठाउँको नाम अहिले पनि खप्तड राष्ट्रिय निकुञ्जको नामले प्रसिद्ध छ।

यसरी ज्ञान-विज्ञान दुवै दृष्टिकोणले हेर्दा पनि ईश्वर सर्वव्यापक, सर्वज्ञ एवं सर्वसामर्थ्यवान छन् भन्ने बुझ्न गाह्रो छैन। उनै ईश्वरबाट विछोडिएर कर्मको फल भोग्नका लागि आएको ईश्वरको सुक्ष्म अंश नै हामी भित्र रहेको आत्मा हो। जो कहिल्यै नास हुँदैन। मोक्षप्राप्त नगर्दा सम्म मानिसले विभिन्न घर र कोठाहरु बदल्दै नयाँ-नयाँ ठाउँमा सरेजस्तै कर्मको फल अनुसार विभिन्न शरीर परिवर्तन गर्दै विभिन्नलोकमा विचरण गरिरहन्छ भन्ने शास्त्रमा उल्लेख छ।

शरीर संग-संगै आत्मा मर्दैन भन्ने कुरा मानिस मरेपछि शालिक तथा फोटोमा टिका,अविर, माल्यार्पण र आत्माको चीर शान्तिको कामना गरिनुले भौतिकवादीहरुले पनि आत्मा नमर्ने कुरो स्विकारेको बुझिन आउँछ। यदि शरीरसंगै आत्मा पनि मरेको वा समाप्त भएको विश्वास हुन्थ्यो भने त्यसखाले कार्यक्रमको सान्दर्भिकता हुने नै थिएन । जो संसारमै हुँदै र गरिँदै आएको छ।

यसर्थ, हामी सवैमा ईश्वर परमात्मा हुनुहुन्छ। हामी उनैका सुक्ष्म अंश हौ। हामीले उनलाई नचिन्दा, नभेट्दा र महसुस नगर्दा सम्म जस्तै राजसी सुख-सयल एवं भौतिक रुपमा सम्पन्न जस्तो देखिए तापनि पूर्ण सुख र शान्तिको अनुभूति हुनै सक्दैन। केही न केही छुटेको जस्तो भइ रहन्छ। कुनै रमाइलो कार्यक्रममा आफ्नो प्रियजनबाट टाढा छु जस्तो हुन्छ।

घरमा रमाइलो भइरँहदा माता पितालाई आफूभन्दा टाढा रहेको सन्तानको कमि भएको जस्तो अपुग तथा अपुरो महसुस भइ रहन्छ। यो शरीर साधन हो भने ईश्वर साध्य हुन्। त्यसैले यो दुर्लभ मनुष्य चोलालाई सार्थक तुल्याउन मानव जुनीबाट मात्र सम्भव हुने भएकाले त्यसको लागि आध्यात्मिक मार्ग संगै ईश्वर प्रतिको भक्तिभाव हुनु जरुरी हुन्छ।

समग्रमा विचार गर्दा फलामको समानको समान बनाउनेलाई चिन्न नसके जस्तै यी इन्द्रियको तह भन्दा माथि रहेका ईश्वरलाई नास्तिक मार्गबाट वस्तुगत रुपमा अनुभव गर्न खोज्नु भनेको यवकृतको कथामा एक मनुष्यले बगेको नदीमा बालुवा हालेर पुल बनाउन खोजे जस्तै जति नै दु:ख गरे पनि पार नलाग्ने कुरो हो। आत्मगत कुरोलाई वस्तुगत नजरले हेरेर ईश्वर देख्न सकिन भन्नु भ्रम हो। मूर्खता हो। आफ्नै आत्मासंग गरेको अन्याय हो।

अझ मानिसलाई यथार्थ के हो भनि तटस्थ रहेर बुझ्नबाट समेत प्रतिबन्ध लगाउने दुष्प्रयास गरी अरुको आस्था माथि एकोहोरो आघात पुर्याउनु भनेको त अपराध पनि हो। यथार्थमा भन्नुपर्दा माथि उल्लेख गरिएका महापुरुषहरुले पनि नास्तिक मार्गको ठीक विपरित आस्तिक मार्ग अवलम्बनगरी सत्गुरुद्वारा प्रदत्त वेद, गीतादि दिव्य ज्ञान एवं श्रीमद्भागवत् सप्तमस्कन्ध ५/२३ मा वताइएका नवधाभक्तिको माध्यमले आफूलाई त्यो उच्चतम् तहमा स्थापित गर्नु भएको कुरा नाम संग-संगै कर्म पनि जोडिएको हुन्छ भनेर बुझ्न खोज्नेहरु सवैले सजिलै बुझ्न सकिन्छ।

ईश्वरलाई जान्न, बुझ्न र अनुभव गर्न त्यति सजिलो छैन र सवैले यसै गर्नु नै पर्छ भन्ने अनिवार्यता पनि छैन। कसैलाई अबरोध नगरी आफ्नो जीवन आफ्नै तरिकाले चल्न पनि सवैलाई स्वतन्त्रता छ।

त्यसकारण ज्ञान-विज्ञान दुवै बुझेका संसारकै बारेमा जानकार सुप्रसिद्ध व्यक्तित्वहरुले समेत स्विकारी सकेको ईश्वरीय सत्यतालाई पनि छँदै छैन, हुँदै होइन भनेर मेरा गोरुका बाह्रैटक्का भने जस्तै जिद्दी गर्नु भनेको घामकोउज्यालोलाई सुपोले छेक्न खोज्नु जस्तै केटौलेपन एवं अपरिपक्व व्यबहार जस्तो देखिन आउँछ।

साहित्यका बिभिन्न धारमा कलम चलाएका अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा उपस्थित सवैलाई चमत्कारै देखाउन सक्ने भारतीय महाविद्वान् राहुल सांकृत्यायनले अवतारी पुरुष समेत भनेका महाकवि लक्षमीप्रसाद देवकोटाले पनि जीवनभर ईश्वरको बारेमा बुझ्न र ध्यान दिन नसकेकोमा पश्चाताप गर्दै जीवनको अन्तिम क्षणतिर आइपुग्दा २०१६ सालमा प्रकाशित सुलोचना महाकाव्यको चौथो सर्गमा “न भक्ति भो न ज्ञान भो न भो विवेक आखीर रहेछ श्रीकृष्ण एक” भनेर ईश्वर भक्तिमा ध्यान दिन नसकेकोमा अत्यान्तै ठूलो भूल गरेछु भनी पश्चाताप गरेको पाइन्छ।

अत: ईश्वर थिए, छन् र विभिन्न स्वरुपमा सधै रहि-रहने छन् । उनी नहुँदा चलिरहेको यो सृष्टी र ब्रह्माण्ड नै रहने छैन। “कर्तुम अकर्तुम अन्यथा कर्तुम समर्थ: य: स: ईश्वर:’।

गर्यो पाप खोज्यो धर्म जान्दैन कर्मको गति।

रिट्ठाको बोट रोपेर कहाँ फल्दछ कागती ।।

।। इति।।

You might also like
1 Comment
  1. श्रीराम पोख्रेल says

    छपाइ दिनु भएकोमा धन्यवाद छ,यहाँ र यहाँको टिमलाई।

Leave A Reply

Your email address will not be published.